
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले र जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार सोमबार बेलुकी अबेर उहाँलाई उहाँकै श्रीमतीको जिम्मामा पठाइएको बताईएको छ ।
मानव तस्करीको आरोपमा पक्राउ पर्नुभएका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।
नेकपा एमालेका प्रदेशसभा सदस्य समेत रहनुभएका अधिकारीमाथि मुद्दा नचल्ने तर अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने सरकारी वकिल कार्यालयले जनाएको छ ।
पूर्वमन्त्री अधिकारी टोकियोमा एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान जानुभएको थियो ।
मन्त्री अधिकारीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई,खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा सोधपुछ गरेको थियो र उनीसंगै चारै जनालाई जापानको अध्यागमनले डिपोर्ट गर्यो ।
अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै काठमाडौं प्रहरीले पूर्वमन्त्री अधिकारीलाई कार्तिक २६ गते बिराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।