धनुषा, मंसिर २१ :

राम-सीता विवाहपञ्चमी महोत्सव अन्तर्गत जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा माता सीताको मटकोर गरिएको छ ।

त्रेतायुगमा जनकपुत्री सीताले विवाह गर्नुअघि माटो खनेको किंवदन्तीलाई मटकोर विधि भन्ने गरिन्छ । गंगासागरबाट माटो जानकी मन्दिर लगिएको माटो विवाहको मण्डपमा बनाइने बेदीमा प्रयोग गरिन्छ । जहाँ माता सीतालाई भगवान श्रीरामले सिन्दुरदान गरेको मानिन्छ ।

मटकोर विधिपछि सहभागीलाई औकरी (पानीमा भिजाएको चना) प्रसादको रुपमा बाँडिन्छ । औकरी लिन खासगरी महिला श्रद्धालुहरुबीच तछाडमछाड नै चल्ने गर्छ। माता सीताको मटकोरको औकरी प्राप्त गर्नुलाई ठूलो भाग्यशाली मानिन्छ ।

मटकोर हेर्न लाखौं श्रद्धालु भक्तजनहरू, साधुसन्त र अयोध्याबाट आएका जन्ती सहभागी थिए ।।