
स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयको परिपत्रमा भनिएको छ, “मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनि गुनासो आएको र सो सम्बन्धमा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न यही मङ्सिर २७ गते सचिवस्तरीय निर्णय भएको छ ।”
तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ती सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने, सक्कल शैक्षिक लब्धाङ्क पत्रमा कार्यलयले राख्न नपाइने र अनुभवको प्रत्र प्रदान गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै, नर्सिङलगायतका अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयको निर्देशनमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नर्सलगायत सबै स्वास्थ्यकर्मीको पारिश्रमिक र अन्य सुविधा बढाउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो ।
मन्त्री पौडेलको निर्देशनमा मन्त्रालयले न्यूनतम पारिश्रमिक लगायतका सुविधा कायम गर्न निर्णय गरेको हो ।