
नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ ।
यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेल अन्तर्गत पर्ने ‘द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड’ विधामा १४ पटकसम्म आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टी हानेर नयाँ रेकर्ड थप गर्नुभएको हो । यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो ।
‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’ को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राख्नु भएको हो ।
यससँगै दिनेश २० औँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ । यस रेकर्डका लागि प्लाटियम प्रायोजकको रुपमा टप सप काठमाण्डौँ र शतिसाल आइआइसीका सञ्चालक न्यूयोर्कका सामाजिक अभियन्ता लकेश श्रेष्ठ हुनुहुन्थ्यो ।
उक्त फेस्टिबलमा मेक्सिको, जर्मनी, भारत, दक्षिण अफ्रिका, पोल्यान्ड, आइरल्यान्ड, भुटान, कोङ्गो, इटाली, नेपाल, बर्मा, थाइल्यान्ड र अमेरिकाका सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रदर्शन गरिएको थियो ।