
जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ ।
बागमती प्रदेश सरकारले सहयोगमा सञ्चालित कार्यक्रमबाट विशेष गरेर किशोरी धेरै लाभान्वित भएका छन् ।
मन्थली मावि कक्षा- ९ की छात्रा सृष्टि तामाङले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आफूहरू जस्ता किशोरीलाई बरदान बनेको बताउनुभयो ।
सृष्टि जस्तै रामेछाप नगरपालिका- ८ स्थित शारदा संस्कृत माविमा अध्ययनरत सोनिका कार्की र रोजिना शाही पनि आफूहरू महिनावारी भएका बेलामा विद्यालय नर्सले दिने स्यानिटरी प्याड र त्यसबेला दुख्ने गरेको तल्लोपेटको उपचारका कारण आफूहरूलाई त्यस अवधिमा विद्यालय जान कुनै अप्ठेरो नभएको बताउँछन् । उनीहरू यसअघि महिनावारी भएका बेला विद्यालय जाने गरेका थिएनन् ।
किशोरी छात्राहरू महिनावारी हुँदा विद्यालय नआउने, आए पनि बीचैमा कक्षा छाडेर घर जाने गरेका थिए । तर यो कार्यक्रम लागू भएपछि विद्यालय नर्स कार्यक्रमपछि छात्राहरूको कक्षामा नियमित उपस्थिति दर पनि बढेको शारदा संस्कृत मावि बावियाखर्कका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेले बताउनुभयो ।
कार्यक्रम लागू भएपछि विद्यार्थीको स्वास्थ्योपचारमा सहज हुनुका साथै विद्यार्थीको उपस्थिति दर पनि बढेकामा जिल्लाका शिक्षक खुसी छन् ।
दुई हजारभन्दा बढी विद्यार्थी रहेको मन्थली माविमा एक जना नर्सले भ्याउन मुस्किल भएकाले दुई जनासम्म भइदिए अझ सहज हुने अर्का प्रधानाध्यापक टङ्कप्रसाद दाहालले बताउनुभयो ।
विद्यालय र विद्यार्थीको सरसफाइ एवं विद्यालयमा ‘जङ्क फुड’ को अन्त्य लगायत बारेमा विद्यालय नर्सले विद्यार्थी र अभिभावकलाई जानकारी गराउने, सामान्य चोटपटक तथा अन्य आकस्मिक बिरामी हुँदा उपचार गर्न सहज हुने भएकाले विद्यालयमा यो कार्यक्रम प्रभावकारी भएको रुद्राक्षेश्वर मावि मुगिटारका प्रधानाध्यपक हर्कबहादुर भुजेलले बताउनुभयो ।
प्रदेश सरकारले जारी गरेको विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६ अनुसार जिल्लाका प्लस टु सञ्चालन गरेका विद्यालयमा यो सेवा उपलब्ध गराउने प्रावधान भए पनि जिल्लाका सबै विद्यालयमा यो सेवा उपलब्ध भइसकेको छैन ।
केही विद्यालयमा कार्यक्रम लागू भए पनि नर्सहरूको दरबन्दी खाली हुँदा कार्यक्रम लागू भए पनि सेवा प्रवाहमा कठिनाइ भइरहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।