
पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् ।
सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहले बताउनुभयो ।
गत आर्थिक वर्षमा आठ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । कार्यालयले अघिल्लो आर्थिक वर्षमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट एक करोड ६ लाख ३९ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।