काठमाण्डौं, पुस १३ :

यमनको सानास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ६  जनाको मृत्यु भएको बताइएको छ ।

आक्रमणको समयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख र संयुक्त राष्ट्रसङ्घका अन्य कर्मचारीहरु पनि सोही विमानस्थलमा नै रहेका बीबीसीले जनाएको छ । 
डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले आफूहरु विमानमा चढ्न लागेको बेला आक्रमण सुरु भएको बताएका छन् ।

हुथी विद्रोहीद्वारा सञ्चालित समाचार संस्था सबाले विमानस्थलमा ३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको जनाएको छ । पश्चिमी होदेइदा प्रान्तमा अन्य तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् ।

इरान समर्थित विद्रोही समूहले विद्युत गृह र बन्दरगाहमा भएको आक्रमणलाई 'बर्बर' भनेको छ । इजरायली सेनाले 'गुप्तचर सूचनामा आधारित सैन्य लक्ष्यमा आक्रमण' गरेको जनाएको छ ।मृत्यु हुनेमा सर्वसाधारण हो वा हुथी विद्रोही हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

टेड्रोसले एक विज्ञप्ति जारी गर्दै आफू यमनमा संयुक्त राष्ट्रसंघका कर्मचारीलाई रिहा गर्न वार्ता गर्न र त्यहाँको स्वास्थ्य तथा मानवीय अवस्थाको मूल्यांकन गर्न आएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघका बन्दीहरू को हुन् भन्ने बारे थप जानकारी भने दिएका छैनन् ।

सानाको विमानस्थलमा भएको आक्रमणबारे उल्लेख गर्दै उनले भनेका छन  “एयर ट्राफिक कन्ट्रोल टावर, डिपार्चर लाउन्ज जुन हामी भएको ठाउँबाट केही मिटर को दूरीमा र रनवेमा क्षति पुगेको छ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यस आक्रमणलाई चिन्ताजनक  भनेका छन् ।यमन र इजरायलबीच हालै भएको तनावप्रति खेद प्रकट गर्दै यस क्षेत्रमा थप तनाव बढ्ने खतराप्रति आफु चिन्तित रहेको  गुटेर्रेसले एक्समा लेखेका छन्।

इजरायली डिफेन्स फोर्सेज (आईडीएफ) ले एक वक्तव्य जारी गर्दै लडाकु विमानहरूले गुप्तचर सूचनामा आधारित रहेर हुथी आतङ्कवादी शासनसँग सम्बन्धित सैन्य लक्ष्यहरूमा आक्रमणहरू गरेको उल्लेख गरेको छ ।