सियोल, पुस १७ :

दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उहाँको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो ।

युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्नुभएको थियो । यसले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको आरोप छ। 

उक्त कार्यलाई लिएर संसद्ले उहाँलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाएपनि महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन रहेको छ । 

संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी आज बिहान जारी गरिएको संयुक्त अनुसन्धान मुख्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए ।

युनलाई प्रहरी चौकी वा सियोल हिरासत केन्द्रमा राख्न सकिने जानकारी दिँदै भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ) का एक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनमा पक्राउ पुर्जी जनवरी ६ सम्म मान्य रहेको उल्लेख गर्नुभएको छ ।

युनका वकिलले अनुसन्धानकर्ताहरूसँग राष्ट्रपतिको जाँच गर्ने अधिकार नभएको बताउँदै महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेको एएफपीले जनाएको छ ।