
पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन् ।
यात्रु जोखिम मोलेर पहिरो पार गरी आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन् । पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड हिजोदेखि अवरुद्ध भएको हो ।
उक्त सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।
उक्त सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ ।
पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । करिब १८ वर्षअघि सडक खन्नु अघि नै यहाँ पहिरोको जोखिम थियो ।
पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।