काठमाण्डौँ , पुस २० :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य लेखन मार्फत सर्जकले आफ्ना सृजना देश र जनताका लागि खर्चनुपर्ने बताएकी छिन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र  ताराहरू’ संस्मरणात्मक कृतिको आज विमोचन गर्दै उनले साहित्य लेखनलाई राजनीति, आर्थिक र सामाजिक परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याइन्।

पूर्वराष्ट्रपति भण्डारीले बनिन्, “सर्जक पोखरेलले विभिन्न पत्रपत्रिकामा सैद्धान्तिक, वैचारिक लेख तथा साहित्य संस्मरण मार्फत मुलुकको राजनीतिक परिवर्तन, पार्टी एकता, सङ्गठन सुदृढीकरण र वैचारिक धार प्रवल बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ ।”

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे। 

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक सङ्गठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइ लगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताए ।

समालोचक उपप्राध्यापक डा विन्दु शर्माले शब्द चयनमा समेत निकै सजगता र सचेतना अपनाई नेपाली आमाहरूको त्याग, समर्पण र बलिदानीबारे इमान्दारीपूर्ण संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको कृतिमा भावुक पार्ने क्षण र विषयवस्तु प्रशस्त रहेको धारणा राखिन्।

कृतिका लेखक एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नी आमालाई परिवर्तन र रूपान्तरणको पात्रका रूपमा प्रस्तुत गर्दै समाज परिवर्तनको आन्दोलनका सिलसिलामा नेपाली आमाहरूलाई कसरी र कुन ठाउँमा पाइयो भन्ने विषयवस्तु जस्ताको त्यस्तै उतार्न कोसिस गरेको बताए । 

कृतिमा पति र पुत्रवियोगमा, आर्थिक अभावमा पनि समाज र सन्तानलाई देश र जनताका पक्ष अटल रहन प्रेरणा दिएका घटना समेटिएका छन् । 

पुस्तकमा माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाबुको निधन र त्यसपछिका चुनौती, आमासित छुट्टिन पर्दा, विद्यार्थी जीवन र राजनीतिमा प्रवेश, मैले घर छोडेपछि आमाको अवस्था, भूमिगत अवस्थामा आमासित भेट, मलाई बचाउने औतारी लामा, आँखा दान गर्ने आमा र आमाको स्वभाव शीर्षकमा विभिन्न विषयवस्तु समावेश छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलका ‘पूर्वको रातो तारा’, ‘माघ १९’ लगायत कृति प्रकाशित छन् ।