
काठमाण्डौं,साउन ९: सौर्य एयरलाइन्सको विमान दुर्घटनाका १८ मृतकको शवलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । पोष्टमार्टमका लागि फरेन्सिक विभागमा शव लगिएपछि मृतकका आफन्तहरु पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । विमान दुर्घटनापछि अस्पताल परिसरमा पुगेका मृतकका आफन्त फरेन्सिक विभाग अगाडि भावविह्वल अवस्थामा छन् ।
केही त्यहीँ बेहोस भएका छन् ।विमान दुर्घटना हुँदा ज्यान गुमाउनेमा एकै परिवारका तीन जना सदस्य रहेका छन् । मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्मा दुर्घटनामा परेका छन् ।इञ्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने क्रममा जहाज दुर्घटना भएको थियो । यस्तोमा प्राविधिक मात्र लानुपर्नेमा किन अरु पनि विमानमा लगिए आफन्तहरुले प्रश्न गरेका छन् ।ज्यान गुमाउनेमा सौर्य एयरलाइन्सको व्यवस्थापनका पाँच जना कर्मचारी रहेका छन् ।
सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल र क्यूए प्रमुख दिलीप बर्माले ज्यान गुमाएका हुन् ।विमानका क्याप्टेन मनिष शाक्यलाई भने उद्दार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ ।
शाक्यलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्दार गरेर अस्पताल लगेको थियो ।