काठमाण्डौं, पुस २१ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको सपथ ग्रहण गर्नुभन्दा १० दिन अघि  न्यूयोर्कमा भएको हश मनी मुद्दामा एक न्यायाधीशले उनलाई सजाय सुनाउन आदेश दिएका छन् ।

पूर्व र भावी अमेरिकी राष्ट्रपतिलाई कसरी र कहिले सजाय दिने भन्ने पहिले कहिल्यै नभएको दुविधाको सामना गर्दै  नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पैसासम्बन्धी मुद्दामा  न्यायाधीशले नाटकीय निर्णय गरेका छन् ।  

न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जेल सजाय वा जरिवानाको सजाय नसुनाउने तर बरु उनलाई बिनाशर्त छोड्ने सङ्केत दिएका छन्।

ट्रम्पले राष्ट्रपति चुनावमा आफ्नो विजयलाई आफू विरुद्धको मुद्दा खारेज गराउन प्रयोग गर्ने प्रयास गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले न्यायाधीशको आदेशलाई नाजायज राजनीतिक आक्रमण भन्दै सामाजिक सञ्जालमा समेत पोस्ट गरेका छन् ।

गत मे महिनामा ट्रम्पलाई  फिल्म स्टार स्टोर्मी डेनियल्सलाई १ लाख ३० हजार अमेरिकी डलर भुक्तानी गरेको अभियोगमा ३४ वटा आपराधिक अभियोगमा दोषी ठहर गरिएको थियो ।

सन् २०१६ को चुनावी अभियानको अन्तिम दिनमा ट्रम्पसँगको कथित यौन सम्बन्धबारे मौन रहनका लागि उनका पूर्व वकिल माइकल कोहेनलाई क्षतिपूर्ति दिन भनिएको आरोप लगाइएको थियो ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले सन् २०२४ मा हुने आफ्नो चुनावी अभियानलाई क्षति पुर्याउने उद्देश्यले उक्त मुद्दा चलाइएको भन्दै आएका छन् ।

ट्रुथ सोसल प्लेटफर्ममा शनिबार पोस्ट गर्दै ट्रम्पले न्यायाधीशको सजायको आदेश हाम्रो संविधान विपरीत छ भनेका छन् ।