काठमाडौं, पुस २१ :

पोखरणमा गरिएको आणविक परीक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आर. चिदम्बरमको ८८ वर्षको उमेरमा निधन भएको छ । उनी भारतका प्रमुख वैज्ञानिक सल्लाहकार पनि थिए ।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । मोदीले ट्विटरमा लेखेका छन्, ‘डा. राजगोपाल चिदम्बरमको निधनले गहिरो दुःख लागेको छ । उहाँ भारतको आणविक कार्यक्रमका प्रमुख वैज्ञानिकहरूमध्ये एक हुनुहुन्थ्यो ।’

उनले भारतको वैज्ञानिक र रणनीतिक क्षमतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए । सिंगो भारतले उनलाई सम्मानपूर्वक सम्झने भन्दै बीबीसीले उनको योगदानले आगामी पुस्तालाई प्रेरणा दिने उल्लेख गरेको छ ।

आर चिदम्बरमको निधनमा धेरैले शोक व्यक्त गरेका छन् । कांग्रेस महासचिव जयराम रमेशले आफू सन् २००२ देखि २०१८ सम्म भारतको प्रमुख वैज्ञानिक सल्लाहकार भएको र पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग विशेष सम्बन्ध रहेको लेखेका छन् ।

जयराम रमेशले लेखेका छन्, ‘उनीसँग भेटघाट र उहाँको कुरा सुन्दा सधैं गहिरो अन्तर्दृष्टि मिल्यो । उहाँ आफ्नो अन्तिम क्षणसम्म बौद्धिक रूपमा धेरै सक्रिय हुनुहुन्थ्यो । उहाँजस्ता व्यक्तिहरू एकदमै दुर्लभ छन् ।’ -बीबीसी