
मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय आयोग बनाएको हो।
काठमाडौँ, साउन ९ : सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल रहनुभएको छ ।
त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले २०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको बताउँदै उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवङ्गत हुने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ । साथै दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनीष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना सरकारले गरेको छ । मन्त्री गुरुङले भन्नुभयो, ‘‘२०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनाबाट नेपाल सरकार स्तब्ध भएको छ । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न गैरसैनिक हवाई उडान, २०७१ को नियम १० बमोजिम रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जहाज आयोग गठन गर्ने निर्णय गरेको छ ।