काठमाडौं, पुस २३ :

नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज (सोमबार) उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा आज (सोमबार) निवेदन दर्ता गराएका थिए । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सोही निवेदनमाथिको सुनुवाइपछि थप कागजात मगाउने आदेश गरिएको हो ।

यसअघि गत असार १४ गते थापालाई सोही प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सोही निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।