
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार उनले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो मद्दत हुने दाबी गरे । उनले जलवायु परिवर्तनले समग्र राष्ट्रमै ठुलो असर गरिरहेको बताए ।
उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँहरु पग्लिरहेको र हिमाल नांगो भएको बताए । उनले नेपालमा जलवायु परिवर्तनले निकै ठुलो समस्याका रुपमा आएको बताए । उनले नेपालमा सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने धारणा राखे । उनले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेसन राख्नुपर्नेमा जोड दिए ।
‘अहिले नेपालमा जो यो जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै र समग्र विश्वमा नै समस्या पारेको छ । नेपालमा त धेरै ठुलो समस्या यसले पार्न सक्दछ । यसले समुद्री सतह बढेको छ । साथै हिमालहरुको हिउँ पग्लिएर हिमाल नांगो भइरहेको छ । जसले गर्दा आज नेपालमा जलवायु परिवर्तनले निकै ठुलो समस्या भइरहेको छ । त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय क्लाइमेट चेन्जको सम्बन्धमा हो । अहिले जो ग्लोबल वार्मिङले गर्दा आज हिमालहरु पग्लिएका छन्,’ उनले भने, ‘हिमालहरुमा पनि हिउँ नै छैन । त्यस्तो अवस्था भइसकेको छ । विस्तारै-विस्तारै नेपालमा धेरै ठूलो समस्या आउन सक्छ । त्यसैले अहिले यस सम्बन्धमा नेपालले चाहेर मात्रै त हुँदैन तर नेपालले धेरै गर्नसक्छ । जस्तो फसल फ्युलहरु, डिजेल, पेट्रोलको प्रयोग यति बढी छ कि त्यसले हाम्रो धेरै कुरामा समस्या पारेको छ । विद्युतीय सवारीसाधनदेखि लिएर धेरै कुराहरुमा नेपालको यो क्लाइमेट चेन्जको असर छ । काठमाडौंमा त हामीले फसल फ्युललाई कम गर्नसक्यौँ । विद्युतीय सवारी अघि बढाउनसक्यौँ भने पनि काठमाडौंबाट पनि धेरै ठूलो काम गर्न सकिन्छ ।’
सभापति देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी अभियान देशभर नै बढाउनुपर्ने धारणा राखे ।