बागलुङ, पुस २८ :

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र सहकारीपीडितहरुबीच मेलमिलाप भएको छ ।

पीडितमध्ये पाँच सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका हुन् । उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरेका हुन् । उनीहरुको मेलमिलापका लागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो ।

ठगी मुद्दामा नेपालीलाई विपक्षी बनाएका जाहेरवालामध्ये पाँच सय ४७ जना बचतकर्ताले यो मेलमिलापपछि मुद्दा फिर्ता लिनेछन् । उनीहरुको ठगिएको रकम रु २३ करोड ७५ लाख ४२ हजार तीन सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकम घटेको छ ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले आंशिक मेलमिलाप भएको आदेश दिएको हो । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेतले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ ९३० बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ ।

जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले यो मुद्दा नमूना भएको बताए । नेपालीविरुद्धको ठगी मुद्दा भने यथावत रहनेछ । उनी हाल पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । गत असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । एक हजार पाँच सय ७३ जनाले नेपालीसहित सञ्चालक र कर्मचारी गरी १३ जनाविरुद्ध सहकारी ठगीको मुद्दा दायर गरेका थिए ।