काठमाडौँ, पुस २९ :

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिदेशीय टि- २० क्रिकेट शृङ्खला खेल्ने भएका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विज्ञप्ति  जारी गर्दै आउँदो माघ १७ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।

नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहने शृङ्खलाका सबै खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

शृङ्खलामा सबै टोलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणको अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । यस्तै माघ १७ गते नेदरल्याण्ड्ससँग, १८ गते थाइल्याण्डसँग, २० गते नेदरल्याण्ड्ससँग, २१ गते थाइल्याण्डसँग, २२ गते नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग खेल्नेछ । 

यसैबीच विश्वकपमा सहभागी हुन नेपालको १९ वर्षमुनिको महिला क्रिकेट टोली शनिबार मलेसिया गएको छ ।