
शुक्लाफाँटा नगरपालिका- ११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
आयोजना अन्तर्गत दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्की, दुईवटा डिप ट्युबेल जडान, ५० किलोमिटर पाइप लाइन विस्तार गरिएको छ ।
उपभोक्तालाई चौबीसै घण्टा दैनिक पानी उपलब्ध गराउने व्यवस्था गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष विनोदकुमार दमाईले बताए ।
उनका अनुसार हालसम्म निजी पाँच सय ६५, सार्वजनिक तीनवटा धारा जडान गरिएको छ । आठ कठ्ठा क्षेत्रमा पक्की पर्खाल सहितको आयोजनाको कार्यालय भवन निर्माण गरिएको छ ।
पानी प्रशोधनका लागि संयन्त्र निर्माण, भल्व च्याम्बर २७ वटा, मेन भल्व च्यामबर एक र पानी परीक्षण गर्ने मेसिन एक राखिएका छन । आयोजनाको रेखदेख र सञ्चालनका लागि तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।
समितिले धारा जडानका लागि दुई हजार शुल्क लिने गरेको छ । पानीको महसुलदर १० युनिटसम्म खपत गर्ने ग्राहकबाट एक सय शुल्क लिने गरिएको समितिका कोषाध्यक्ष टेकबहादुर भण्डारीले बताए ।
विद्युत् अभाव भएका बेला पानी निरन्तर उपलब्ध गराउन भने कठिनाइ हुने भन्दै सोलार तथा जेनेरेटरको व्यवस्थाका लागि अनुदानमा उपलब्ध गराउने दातृ निकायको खोजीमा रहेको उनले बताए ।
वडामा एक हजार सात सय परिवार रहेका छन् ।