
सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताएका छन् ।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताए । उनले दलहरुले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने धारणा राखे ।
उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्धन हुने जिकिर पनि गरे । उनले राजनीतिक दल आफैं आमजनतालाई ठीक दिशामा लैजाने र जनताका अभिमतालई ठीक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए ।
जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको उनको भनाइ छ । लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरुमाथि प्रश्न उठ्नु स्वभाविक भएको सभामुख घिमिरेको भनाइ छ ।
‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका सर्वप्रथम माथि रहन पुग्छ । त्यति मात्र होइन, दलहरु नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवर्धन गर्दै अघि जाने कुराहरु हुन्छन् । दल आफैं यस्तो साधन हो जो, आमजनतालाई ठीक दिशामा लैजान सक्छ र जनताका अभिमतहरुलाई ठीक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ, उनले भने, ‘तर ऊ आफैं लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरु लोकतान्त्रिक छैनन्, उसले सूचनासम्बन्धीको कामलाई व्यवस्थित गर्न आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ ।’