काठमाडौं, माघ १ :

रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण (पीएसबी) मा रूपान्तरण भएको सन्दर्भमा भोलि (माघ १ गते) पूर्वारम्भ हुने भएको छ । ३ गतेसम्म चल्ने पूर्वारम्भमा विभिन्न दशवटा सत्रमा गहन छलफल चल्नेछ ।

नेपाल टेलिभिजनमा माघ १ गते उद्घाटन हुने र सोही दिनदेखि नै विषयगत छलफल (प्यानल डिस्कसन) सुरु हुनेछ ।

भोलि पहिलो दिन पीएसबीको अन्तर्राष्ट्रिय अभ्यास र लोकतन्त्रको सबलीकरण एवं राष्ट्र निर्माणको विषयमा विषयविज्ञ तथा सरोकारवालाहरुसँग विषयगत छलफल हुनेछ ।

यसैगरी, दोस्रो दिन (माघ २ गते) नैसर्गिक अधिकारका रुपमा रहेको शिक्षा र स्वास्थ्य सेवामा आममानिसको पहुँच, विपद्को तयारी र विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरुसँगको सहकार्य, जनमुखी सूचना तथा सञ्चारमा सार्वजनिक सेवा प्रसारणको भूमिका एवं महत्त्व र राष्ट्रिय एकतालगायत विषयमा सम्बन्धित विषयका विशेषज्ञहरुसँग छलफल हुनेछ ।

यसैगरी तेस्रो दिन (माघ ३ गते) पीएसबी सञ्चालन र स्थायित्व एवं प्राविधिक रूपान्तरण एवं डिजिटल प्लेटफर्मको प्रयोगजस्ता विषयमा गहन छलफल हुने पीएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए ।

पीएसबीमा नेपाल टेलिभिजन र रेडियो नेपालको सहज रूपान्तरण एवं सही सञ्चालनका साथै संस्थाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्त्वपूर्ण मार्गदर्शन प्राप्त हुने विश्वासका साथ जनसरोकारका विविध विषयगत छलफल आयोजना गरिएको अध्यक्ष डा. विष्टको भनाइ छ ।

पूर्वारम्भ कार्यक्रमको उद्घाटन सत्र र समापन सत्र तथा विषयगत छलफलको  रेडियो, टीभी र डिजिटल प्लेटफर्मबाट प्रत्यक्ष प्रसारण गरिनेछ । माघ ३ गते रेडियो नेपालको प्रांगणमा कार्यक्रमको समापन हुनेछ ।