
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दमा बहस जारी रहेको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले प्रतिवादी (रवि लामिछाने) लाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।
लामिछानेविरुद्द सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा भएको हुँदा प्रतिवादीलाई अहिले नै थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने सरकारी वकिलहरुको तर्क थियो। सरकारी वकिलहरुले कास्की जिल्ला अदालतको आदेशलाई पनि ख्याल गर्दै थुनाबाट छाड्न नहुनेमा जोड दिएका छन् ।सहकारी पीडितहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने तर्क सरकारी वकिलहरूले गरेका छन् ।
रविका विरुद्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसहित ११ जनाले बहस गर्ने छन्।रविका पक्षबाट भने पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गर्दै छन् ।
अहिले आधा घण्टा खाजा ब्रेक भएको छ । सरकारी वकिलको तर्फबाट बहस सकिएपछि पीडितका कानुन व्यवसायीले थुनछेक बहस गर्नेछन् । त्यसपछि प्रतिवादी लामिछानेका तर्फबाट बहस हुनेछ ।