
अब सरकारी एवं सार्वजनिक निकायले नेपालमै उत्पादन गरिएका ८ प्रकारका वस्तु प्रयोग गर्नुपर्ने भएको छ ।
राजपत्रमा सोमबार प्रकाशित भएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ अनुसार कर्मचारीका पोसाकदेखि सजावटका सामग्री नेपाली हुनुपर्ने व्यवस्था गरिएको हो ।
फर्निचर, फर्निसिङ, सरसफाइ, फ्लोरिकल्चर, साजसज्जाका वस्तु पनि नेपाली उत्पादन हुनुपर्नेछ । काठबाट निर्मित फर्निचर, प्लाइउड, बेत तथा बाँसबाट निर्मित सामान, अम्रिसो, तथा निकालोबाट तयार सामान, गलैंचा, कार्पेट, मेट्रेस नेपाली हुनुपर्नेछ ।
सरसफाइमा प्रयोग हुने झोल तथा केमिकल, साबुन, सर्फ, स्याम्पो, कुचो, डस्बिन, ट्वाइलेट पेपर, पुष्पमाला नेपाली हुनुपर्नेछ ।
सार्वजनिक निकायमा कार्यरत कर्मचारी एवं पदाधिकारीले स्वदेशी उद्योगबाट निर्मित पोसाक प्रयोग गर्नुपर्नेछ । सरकारी कार्यालयहरुले स्टेसनरी, छपाइसम्बन्धी वस्तु नेपाली प्रयोग गर्नुपर्नेछ ।
नेपाली हातेकागज, ब्राउन पेपर, डटपेन, पेन्सिल, खाम, रजिस्ट्र, टिस्युपेपर, डायरी, कापी, फाइल, ब्याग, सल, दोसल्लालगायत वस्तु नेपाली हुनुपर्नेछ ।
कृषि तथा पशुजन्य उत्पादन, खाद्य र पेय पदार्थ नेपाली हुनुपर्नेछ । दूधजन्य पदार्थ, अन्डा माछामासु, प्रशोधित तेल, चिया-कफी, अलैंची, सबै प्रकारका फलफूल, मिनिरल वाटर, विद्यालयमा प्रयोग हुने सातु, पिठो, लिटो, बिस्कुट नेपाली हुनुपर्नेछ ।
जडीबुटीजन्य वस्तु र प्लास्टिकका प्याकेजिङ फिल्म तथा सिट नेपाली हुनुपर्नेछ ।
यी वस्तु खरिद गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली उत्पादन नामक एक विद्युतीय पोर्टल बनाई कार्यन्वयनमा ल्याउनेछ । त्यसमा स्वदेशी वस्तु उपलब्ध गराउन चाहाने उत्पादकले वस्तुको नाम, परिमाण, खुद्रा तथा थोक बिक्री मूल्य, गुणस्तरलगायत विशेषता समावेश गरी विद्युतीय पोर्टलमा सूचीकृत गराउनुपर्नेछ ।
तयारी पोसाक र कोसेली तथा उपहार नेपाली वस्तु हुनुपर्ने छ। अल्लो, केतकी, बाँस, केराको रेसालगायत स्थानिय कच्चा पदार्थबाट निर्मित कपडा, ऊनबाट निर्मित वस्तु, ढाका, पस्मिना, जुटबाट उत्पादिन सामाग्री प्रयोग गर्नुपर्ने छ। सम्मेलनमा प्रयोग हुने ब्याग, ब्याच तथा अन्य सामाग्री हस्तकला, काष्ठकला, मूर्तिकलाका वस्तु प्रयोग गर्नुपर्नेछ।
मेसिनरीमा तथा उपकरणमा ६३ एमभीएसम्मका ट्रान्सफर्मर, लघु तथा साना जलविद्युत् आयोजना २ मेगावाटसम्मका लागि आवश्यक सामग्री, कम्प्युटर सफ्टवेयर नेपाली हुनुपर्नेछ।
निर्माण सामग्री सिमेन्ट, छड, इँटा, रङरोगनका वस्तु, एएसी ब्लक, प्रिफ्याब, रोजिन नेपालमा उत्पादन हुनुपर्नेछ ।
हेर्नुहोस् सूची