
कलाकारको जम्बो टोलीको अभिनय रहने नेपाली चलचित्र ‘महाभोज’ को मुहूर्त पूजा गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार बिहान चलचित्रको टिमले विशेष पूजा गरेको हो ।
पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतको उपस्थिति थियो । साथै, चलचित्र प्राविधिक तथा निर्माण समूह उपस्थित थियो । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायांकन हुने यो चलचित्रको टिम बुधबार त्यसतर्फ जाने बताइएको छ ।
पछिल्लो चलचित्र ‘पुजार सार्की’ निर्देशन गरेका दिनेश राउतले आठौं चलचित्रका रूपमा ‘महाभोज’ निर्देशन गर्न लागेका हुन् । निर्देशक राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताए । ‘महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु,’ उनले भने, ‘देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउनेछ ।’
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता यसअघि ‘नाङ्गो गाउँ,’ ‘दुखी आत्मा’ जस्ता चलचित्रहरूको निर्माण गरेका हिमाल कडरिया हुन् । कार्यकारी निर्माताहरू किरण नेपाली र सुदीप ढकाल हुन् । चलचित्रलाई यसअघि ‘प्रकाश’ र ‘पुजार सार्की’ लेखेका विकास सुवेदीले लेखेका छन् भने छायाकार राजेश श्रेष्ठ हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेशबहादुर रावतको छ ।
रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर हुन् भने मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।
तस्बिर : सुरेन्द्र थापा