
नेपाली चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत १५ देखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने घोषणा गरिएको छ ।
विजय बस्यालले डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने संघर्ष, रहस्य र गहन भावनालाई संकेत गर्छ । चलचित्रका कलाकार वीरेन्द्रसिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रहरूको गहिराइलाई प्रतिनिधित्व गरेको छ ।
‘डोरी’ को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । यसमा अनुभवी र नव-प्रवेशी कलाकारहरूको संयोजन छ । जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, वीरेन्द्रसिंह कुशवाहा, राज पौडेल, कविता आले, राज थापा, नूतनलगायतको अभिनय छ ।
चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताका रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । ‘डोरी’ मा राजनराज सिवाकोटीको संगीत, रोशन दिवाना कला निर्देशक छन् ।