
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतारसँग अपिल गरेकी छन् ।
हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन मन्त्री राणाले (आज) मंगलबार बिहान हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्तासमेत रहेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेकी हुन्।
नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको विदेश राज्यमन्त्री खुलाइफीको जवाफ थियो ।उनीहरूले पहिलो चरणमा केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुनेमा आफू विश्वस्त रहेको कतारी विदेशराज्यमन्त्री खुलाइफीको भनाई थियो ।
परराष्ट्रमन्त्री राणाले यसअघि इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । गत हप्ता उनले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग पनि सो आग्रह गरेकी थिइन् ।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गर्दा प्यालेस्टाइनी हमास समूहले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि परेका छन् । हमासको आक्रमणमा १० जना नेपालीसहित एक हजारभन्दा बढीको मृत्यु भएको थियो ।