
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिएकी छन् ।
काठमाडौं महानगरपालिकाले आज (बुधबार) आयोजना गरेको २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् ।
निर्माण गरिरहेका संरचनाहरु भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्यांकन गर्ने समय भएको भन्दै उनले भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठूलो क्षति व्यहोर्नुपर्ने बताइन् । सबैले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
‘हामीले बनाइरहेको संरचनाहरु भूकम्प प्रतिरोधात्मक छन् की छैनन् उनले भनिन् , ‘हामीले पूर्वतयारीमा कति ध्यान पुर्याइरहेका छौं, हामीले गरिरहेका कामहरुको मूल्यांकन गर्ने समय पनि हो यो ।’
विसं १९९० माघ २ गतेका दिउँसो २:२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।