
नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवालसहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्री डाईरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो ।
श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । विश्वव्यापी रुपमा नै श्रम आप्रवासको क्षेत्रमा काम गरिरहेको संस्था आईएलओसँग चेम्बरले सम्मानित रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपनालगायत विषयमा सहकार्य गर्ने चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
उनले भने, ‘नेपालमा करिब ८० प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको र उनिहरुको हक-अधिकार सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिबद्ध रहेको छ ।’ नेपालको श्रम कानुनमा रहेको व्यवस्था बदलिदो कार्यशैली र सीप आर्जनमा चुनौतीपूर्ण रहेको अध्यक्ष अग्रवालको भनाइ छ । श्रमिकले लचकतापूर्ण कार्यशैली अपनाउने परम्पराको विकास भइरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो ।
चेम्बर अध्यक्ष अग्रवालसहितका पदाधिकारीसँग भएको भेटमा आईएलओका कन्ट्री डाइरेक्टर अन्ज्यनले रोजगारदाता र श्रमिक दुवैसँग प्रभावकारी समन्वय गरेर आईएलओले काम गरिरहेको बताए । साना तथा मझौला उद्योगहरु मुलुकको अर्थव्यवस्थाको मुख्य मेरुदण्ड भएको उनले बताए ।