काठमाडौं, माघ ३ :

अघिल्ला वर्षहरुजस्तै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौं  संस्करण चैत ७ गतेदेखि ११  गते सम्म (मार्च २०-२४, २०२५) हुने भएको छ ।

अघिल्ला वर्षझैँ फेस्टिभलमा यो वर्ष पनि विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट चलचित्रहरू देखाइनेछन् । समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका  राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वहरूको रोचक र अर्थपूर्ण छलफलका सत्रका साथै विभिन्न मास्टर क्लास र कार्यशालाहरु पनि सञ्चालन हुने निफले जानकारी दिएको छ ।

७० देशबाट प्राप्त ६०० भन्दा धेरै चलचित्रबाट निफको आठौ संस्करणमा ४० देशका ८७ वटा चलचित्रहरू छानिएको जानकारी निफले दिएको छ । छनोटमा परेका  थुप्रै चलचित्रहरु बुसान, कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।

फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरी, दुवै वर्गीकरणमा फिचर र लघु चलचित्र, साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ  । प्रविधिमा आएको विकासलाई आत्मासात् गर्दै र दर्शकहरुलाई नयाँ स्वाद दिन यो वर्षबाट ए आई प्रविधिबाट वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको निफले जनाएको छ । यसले दर्शकहरुलाई नयाँ प्रविधिसँग पनि साक्षातकार गराउने विश्वाश लिएको निफको भनाइ छ ।

यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्रहरू क्यूएफएक्स सिनेमाका सिभिल मल  र छाया सेन्टरका हलमा प्रदर्शन हुनेछन् । यसका निमित्त क्यूएफएक्स सिनेमा घरसँग अघिल्ला वर्षझैं यस वर्ष पनि सहकार्यलाई निरन्तरता दिएको छ । साथ साथै पर्यटन बोर्डको हल र राष्ट्रिय सभागृहमा विभिन्न किसिमका बहस र संवादहरु सञ्चालन गरिनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासंघ’ का तर्फबाट अवार्ड प्रदान गरिने निफले जानकारी दिएको छ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ भने एआई चलचित्रलाई ५०० अमेरिकी डलर राशिको मन्जुश्री अवार्ड प्रदान गरिनेछ ।

यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०-५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

राष्ट्रिय सर्ट फिल्म मध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने राष्ट्रिय फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफीद्वारा सम्मानित गरिने निफको भनाइ छ ।