
प्रधानमन्त्री कप महिला टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७५ रनले हराएको छ ।
आज भएको खेलमा सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा ५२ रनमा अलआउट भयो ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन बनायो । सुदूरपश्चिमकी कविता कुँवरले ५५ रन बनाइन् । लुम्बिनीकी सरस्वती पुनले ३ विकेट लिइन् ।
प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनीले पहिलो खेलमा हार बेहोरेको छ।
यस्तै, विभागीय टोली एपिएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ ।
आज भएको दोस्रो खेलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हराएको हो ।
जितसँगै एपिएफ दुई खेलबाट चार अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो । गण्डकीको भने यो लगातार दोस्रो हार हो ।