काठमाडौँ, माघ ३ :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज सूचना जारी गर्दै पेट्रोलमा प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागु हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । 

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ तोकिएको छ । 
    
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । 

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आज (बुधबार) प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमका अनुसार आईओसीबाट बुधबार पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।