
Photo: CAN
विभागीय टोली नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो ।
पुलिसले दिएको एक सय तीन रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटियो ।
आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११÷११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले छ तथा ललित राजवंशीले चार विकेट लिए ।
दोस्रो इनिङमा पुलिस एक सय ३९ रनमा अलआउट भएपछि आर्मीले एक सय तीन रनको लक्ष्य पाएको थियो । नौ विकेटको क्षतिमा एक सय ३२ रनबाट पुलिसले तेस्रो दिनको खेल सुरु गरेको थियो ।
थप सात रन जोड्दा अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले एक सय दुई रनको अग्रता बनायो । अन्तिम विकेटका रुपमा बसिर अहमदले ललितलाई आउट गरे । सागर ढकाल छ रनमा नटआउट रहे ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले ४५, दिलीप नाथ ३४, राशिद खान १८, ओपनर अमित श्रेष्ठले १३ रन बनाएका थिए । त्यसबाहेक पुलिसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।