
आमआदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधबार राति बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणप्रति प्रतिक्रिया दिएका छन् ।
अरविन्द केजरीवालले भने, ‘यदि कोही घरमा पसेर चक्कुले आक्रमण गर्छ भने, यसले राज्य सरकार र केन्द्र सरकारमाथि ठूलो प्रश्न चिह्न खडा गर्छ ।’
उनले राज्य र केन्द्र दुवै सरकार असफल भएको उनको भनाइ छ । ‘यसको अर्थ दुवै सरकार जनतालाई सुरक्षा प्रदान गर्न असफल भएका छन् भन्ने हो । यसभन्दा पहिले बाबा सिद्दिकीको हत्या गरिएको थियो,’ केजरीवालले भने ।
उनले बलिउडका ठुला सेलिब्रिटीलाई सरकारले सुरक्षा दिन नसके आमजनताको सुरक्षाबारे के नै भन्न सकिएला र भन्दै प्रतिप्रश्न गरे । उनले भने, ‘यदि भारतीय जनता पार्टीले देशको यति ठूलो सेलिब्रेटीलाई सुरक्षा प्रदान गर्न सक्दैन भने, हामी आममानिसको सुरक्षाको बारेमा के भन्न सक्छौं ?’
उनले वर्तमान सरकारभित्र अपराधीहरुको राम्रो प्रभाव रहेको पनि प्रतिक्रिया दिएका छन् । ‘यस्तो देखिन्छ कि वर्तमान सरकारभित्र अपराधीहरूको राम्रो प्रभाव छ । अपराधीहरु कुनै पनि डरविना सबै काम गरिरहेका छन्,’ उनले भने ।
यसैबीच, ममता बनर्जीले पनि सैफ अली खानमाथि भएको आक्रमणप्रति चिन्ता जनाएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ ।
उनले भनिन्, ‘अभिनेता सैफ अली खानमाथि आक्रमणको खबर सुनेर धेरै चिन्ता लागेको छ । उहाँको स्वास्थ्यमा छिटो सुधार होस् भन्ने कामना गर्दछु । आशा छ कानुनले आफ्नो काम गर्नेछ र जिम्मेवार व्यक्तिहरू जवाफदेही हुनेछन् ।
‘यस कठिन समयमा शर्मिला दी, करिना कपुर र सम्पूर्ण परिवारसँग मेरो समवेदना र प्रार्थना छ,’ बनर्जीले भनेकी छन् ।
यो पनि…
बलिउड अभिनेता सैफमाथिको आक्रमणबारे करिना कपुरले के भनिन्, अस्पतालले जारी गर्यो विज्ञप्ति