.jpg)
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ ।
इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब) को सहकार्यमा आयोजित फोटो प्रतियोगिताबाट छानिएका ५० उत्कृष्ट तस्बिर प्रदर्शनीमा समावेश गरिएका थिए ।
प्रधानमन्त्री केपी ओलीले प्रदर्शनीको अवलोकन गर्दै प्रतियोगिता विजेताको घोषणा गरे । ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्रदर्शनी अवलोकन गरेका थिए ।
प्रतियोगितामा सुरविन्द्रकुमार पुनले खिचेको तस्बिरले प्रथम स्थान प्राप्त गर्यो । किरण पाण्डेले दोस्रो स्थान हात पारे भने अनीता कार्की तेस्रो स्थानमा रहिन् । विजेताहरुलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रदर्शनीलाई व्यवस्थित रूपमा दुई खण्डमा विभाजन गरिएको पीजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले जानकारी दिए । पहिलो खण्डमा स्वतन्त्र व्यक्ति तथा कम्पनीहरूले पठाएका तस्बिरलाई इप्पान र पीजे क्लबका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरेर राखिएको थियो ।
दोस्रो खण्डमा इप्पानसँग आबद्ध सदस्य कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजना तथा परियोजनाका तस्बिर समेटिएका थिए । ऊर्जा विकासलाई कलात्मक दृष्टिकोणले प्रस्तुत गर्न यो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेलेको छ । इप्पानका सदस्य कम्पनीहरूको योगदान र स्वतन्त्र फोटोग्राफरहरूको सिर्जनशीलतालाई एकै थलोमा समेटेर ऊर्जा विकासका विविध आयाम उजागर गरिएको थियो ।
इप्पानले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
हेरौं थप तस्बिर :
यो पनि…