काठमाडौं, माघ ७ :

कोसी प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुले निक्षेप संकलनभन्दा पनि कर्जा प्रवाह बढी गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोसी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी सक्षिप्त प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले एक हजार आठ सय ३७ शाखामार्फत कुल चार खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । प्रतिवेदनअनुसार २०८१ को असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले यो प्रदेशमा प्रवाह गरेको कुल कर्जा रकम भने पाँच खर्ब ७८ अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको देशभरको कुल निक्षेप तथा कर्जा प्रवाह रकम भने क्रमशः ६४ खर्ब ८७ अर्ब र ५१ खर्ब ६४ अर्ब रुपैयाँ छ । कोसी प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुको प्रतिशाखा सेवाग्राहीको संख्या भने २७ सय एक रहेको छ ।

यस अवधिमा देशभर प्रतिशाखा सेवाग्राहीको संख्या भने २५ सय ९९ रहेको छ । प्रतिवेदनअनुसार कोसी प्रदेशमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या ७६ लाख ५९ हजार ३५ रहेको छ ।

यस अवधिमा देशभर सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या भने पाँच करोड ५९ लाख २४ हजार ६ सय ९६ रहेको छ ।

राष्ट्र बैंकका अनुसार कोसी प्रदेशमा बैंक तथा फाइनान्स कम्पनीहरुको ६ सय ८१ एटीएम काउन्टरहरु सञ्चालनमा छन् । देशभर सात सय ५३ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा रहेकामा कोसी प्रदेशमा भने एक सय ३७ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको शाखा छ ।

कोसी प्रदेशमा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या भने क्रमशः ३४ लाख १४ हजार एक सय ९९ र दुई लाख आठ सय ३९ रहेको छ ।

देशभर भने यस्तो संख्या क्रमशः दुई करोड ३७ लाख ३४ हजार पाँच सय ३८ र १९ लाख ५८ हजार एक सय १० रहेको प्रतिवेदनमा उल्लेख छ ।