
यस वर्षको सहिद सप्ताह कार्यक्रम माघ १० गते बिहीबारबाट सुरु हुने भएको छ ।
नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।
सुशासन समितिका संयोजक ख्यामराज तिवारीको अध्यक्षतामा आज (आइतबार) बसेको बैठकले १९९७ सालमा मृत्यु दण्ड पाएका सहिदहरुले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सबै सहिदहरुको सम्झनामा स्मृति सभा गर्ने निर्णय भएको हो ।
१९९७ मा प्राणदण्ड पाएका ४ जना सहिदले माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गरेका थिए । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा उनीहरुले ज्यान गुमाएका थिए । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।
बैठकमा नेपाली सेना समारोह सञ्चालन निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका अधिकारी सहभागी थिए ।
सहिद सप्ताहको पहिलो दिन माघ १० गते टेकु मचली, १३ गते सिफल उकालो र १५ गते शोभा भगवतीमा कार्यक्रम हुनेछ ।
यस्तै माघ १६ गते शान्ति बाटिकाबाट प्रभात फेरी गर्दै लैनचौरमा पुगेर सहिद स्तम्भमा सभा हुनेछ । त्यस अवसरमा प्रधानमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिहरु स्मृति सभाका लागि भेला हुनेछन् ।
वि. सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।