माघ ८ :

चितवनको भरतपुरमा रहेको साहारा सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने जनाएको छ ।

पूरक अभियोजनमा थप १४ नयाँ प्रतिवादी बनाउनुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले बताए । २४ बचतकर्ताले गत मंसिरमा रविसहित १० व्यक्तिविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । 

त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान थालेको थियो ।यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । साहारा सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या ३१ पुगेको छ ।

उनीहरुसँग ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ बिगो दावी गरिएको छ ।यसअघि पहिलो चरणमा ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । लामिछाने लगाएका व्यक्तिविरुद्ध गत मंसिर ७ मा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।