
काठमाडौं, माघ ८ :
चितवनको भरतपुर बाइपास रोडमा एक युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरिएको छ ।
भिडिओ सार्वजनिक भएपछि छानबिन गरेर घटनामा संलग्न अस्थायी प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जनाइएको छ ।
घटनाको छानबिन गर्न आज (सोमबार) बिहान मात्रै जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा समिति बनाइएको छ । उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा सवारी चेकजाँच गर्ने क्रममा सेतो सर्ट र कालो पाइन्ट लगाएका ती युवकमाथि ड्युटीमा खटिएका प्रहरीले लखेटी-लखेटी लात्ती प्रहार गरेको देखिन्छ । घटना पुस १५ गते राति १०:१० बजे भएको थियो ।