
राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरुको नाम उपलब्ध गराउन अग्रह गरेका छन् ।
शीतलनिवासमा मंगलबार आदिवासी जनजाति आयोगको आव ०८०/८१ को वार्षिक प्रतिवेदन बुझ्दै उनले आदिवासी जनजाति समुदायभित्र रहेका आदिकविहरुको नाम र शालिक उपलब्ध गराउन आग्रह गरेका हुन् ।
उनले आयोगले मगर, राईलगायत, आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातिहरुका आदिकविहरुको नाम र सालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताए ।
उनले ४ सय बिघा जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको बताए । त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने बताए ।
‘भानुक्तको चुँदीरम्घामा भानु साहित्य उद्यान ४ सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदै छु । त्यहाँ मूर्तिवाटिका हुन्छ । त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरु त्यहाँ रहन्छन्,’ उनले भने, ‘भानुभक्तसहित सबै भाषाका आदिकविहरुको मूर्ति रहन्छ । त्यो को-को हुन्, मगरका, राई भाषाका आदिकवि उहाँहरुको नाम र मूर्ति चहियो ।’
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवर्धन एवं विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वांगीण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवं कानुनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताए ।