सर्लाही, साउन ३० :

सर्लाहीको यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा छ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो ।

कार्यालयमा भाडाका सवारीबाट आयकर बापत १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिनुभयो । 

यस्तै पटके, रुट परमिट लगायत कारबाहीबाट दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत एक करोड ४६ लाख ३८ हजार तीन सय १५ रुपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताउनुभयो । सवारी साधन करबाट चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो ।