
नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ ।
अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलोपटक ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको ६ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनील शर्माले आफ्नै अस्पताल विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलोपटक सञ्चालनमा ल्याएका हु्न् ।
डा. शर्माले उत्कृष्ट प्रविधिसहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । उनले तीन अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेको जानकारी दिए ।
नेपालमै पहिलोपटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आमनागरिकलाई क्यान्सर उपचारमा थप सहज हुने विश्वास अस्पतालको छ । यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस र एसबी आरटीले शल्यक्रियाविनै क्यान्सर सेललाई निर्मूल गर्नसक्छ ।
आईजी आरटी, आईएम आरटी, भीएम एटीजस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्छ । ब्राकी थेरापीलेविना दुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्छ ।
यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेसिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । नोबेलमा क्यान्सर उपचारका लागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्ना गरी उपचार गराइने अन्तरंग सेवा, रेडिएसन थेरापीलगायत सेवा सञ्चालनमा छन् । नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनील शर्माको हो ।