
सिद्धबाबा सुरूङमार्गको ब्रेक थ्रु गरिएको छ । प्रधानमन्त्री केपी ओलीको भर्चुअल उपस्थितिमा आज (शुक्रबार) ब्रेक थ्रु गरिएको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म ११ सय २६ मिटरको सुरुङमार्ग निर्माण भइरहेको छ ।
प्रधानमन्त्री ओलीले सुरुङको ब्रेक थ्रुसँगै भर्चुअल माध्यमबाट देश अहिले सुरुङ युगमा प्रवेश गरेको बताए ।
उनले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सुरुङ मार्गले सहज हुने मात्र नभई पहाडी जिल्लाको उत्पादनलाई बुटवलसम्म ल्याउन सहज पुग्ने बताए ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको क्षेत्र सधैं पहिरोको उच्च जोखिममा पर्छ । पहिरोको जोखिम मध्यनजर गर्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढाएको थियो ।
आयोजना प्रमुख कृष्णराज अधिकारीले कुल ११ सय २६ मिटर लामो सुरुङमार्गको खन्नुपर्ने भित्री भाग एक हजार ८९ मिटर रहेको र सबै खनेर ब्रेक थ्रु गरिएको जानकारी दिए ।
सुरुङमार्ग निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ । २०७८ फागुनमा ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण थालिएको सुरुङमार्ग अहिलेसम्म ४० प्रतिशत पूरा भएको छ ।