काठमाडौं, माघ १२ :

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि नीरज तामाङले जितेका छन् ।

जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा नीरजले समग्रमा १-अन्डर २०६ स्कोर गरे । उनले आज भने ४-ओभर ७३ स्कोर गरे । उपाधिसहित उनले नगद १ लाख ५० हजार प्राप्त गरे ।

नीरजले पोखरामा उपाधि जितेको यो पहिलोपटक हो । उनको करियरको यो तेस्रो उपाधि हो । यसअघि उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए । इभन-पार ६९ को कार्ड तयार पारेका जयराम श्रेष्ठले समग्रमा २-ओभर २०९ सहित दोस्रो भए । उनले नगद १ लाख हात पारे । समग्रमा ३-ओभर २१० को स्कोरमा भुवनकुमार रोक्काले तेस्रो स्थानमा चित्त बुझाएद। आज उनले ७-ओभर ७६ को प्रदर्शन गरे । उनले ७५ हजार पुरस्कार पाए ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले आज २-अन्डर ६७ को स्कोर दर्ज गरे । समग्रमा ४-ओभर २११ सहित चौथो हुँदा उनले ६३ हजार प्राप्त गरे । समग्रमा ७-ओभर २१४ को स्कोरमा सञ्जय लामा, धन थापा, विष्णु प्रसाद शर्मा र रामे मगरले पाँचौं स्थान बाँडे । विष्णु र रामेले आज ४-ओभर ७२ तथा सञ्जय र धनले ७-ओभर ७६ को स्कोर निकाले । उनीहरूले जनही ४४ हजार ७५० नगद पुरस्कार पाए ।

१०-ओभर २१७ सहित कृष्णमान राजबहाक र तोरणविक्रम शाहीले दशौं स्थानमा प्रतियोगिता सकाए । कृष्णले ६-ओभर ७५ र तोरणले ४-ओभर ७३ मा अन्तिम दिनको खेल सकाए ।‌ दुवैले जनही ३३ हजार ५ सय नगद प्राप्त गरे । एमेच्योरतर्फ सुरेश तामाङ पहिलो भए। इभन-पार ६९ को स्कोरमा समग्रमा ९-ओभर २१६ को नतिजा निकाल्दै सुरेशले सुमन परियारलाई दुई स्ट्रोकले हराए । समग्रमा ११-ओभर २१८ सहित सुमन काउन्ट ब्याकमा दोस्रो भए । उनले आज ३-ओभर ७२ स्कोर गरे। दोस्रो दिनका लिडर सुन्दर राईले आज ९-ओभर ७८ खेल्दै तेस्रो स्थानमा झरे ।

अन्तिम दिनको सुरुवात गर्दा मात्र एक स्ट्रोकले अगाडि रहेका नीरजले उत्कृष्ट स्कोर निकाल्न सकेनन् । उनलाई अन्य गल्फरले चुनौती दिन नसक्दा ३ स्ट्रोकले उपाधि जितेका हुन् । पाँचौंदेखि सातौं होलमा बोगी खेपेका उनले फ्रन्ट नाइन ३-ओभर ३७ खेले । यसपछि १०औं होलमा बर्डी प्रहार गरे पनि ११औं र १८औं होलमा एक-एक सट खेर फाले । ब्याक नाइन १-ओभर ३६ मा सकाए ।

जयरामले पहिलो होलमा नै ट्रीपल बोगी प्रहार गरे। लगतै तेस्रो होलमा एक सट खेर फाले। छैटौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन २-ओभर ३६ मा पूरा गरे । यसपछि ब्याक नाइनमा चार बर्डी र दुई बोगी प्रहार गरे । १०औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगीको सामना गरे । यसपछि १५औं देखि १७ औं खेलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरे । अन्तिम होलमा एक सट खेर फाल्दा ब्याक नाइन २-अन्डर ३३ मा सकाए । यो सँगै उनी संयुक्त रुपमा पाँचौंबाट दोस्रो स्थानमा उक्लन सफल भए ।

लगातार दुई दिन दोस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइन ५-ओभर ३९ र ब्याक नाइन २-ओभर ३७ मा सकाए । उनले दोस्रो र चौथो तथा यसपछि पाँचौंदेखि सातौं होलमा लगातार तीन बोगी हाने । ११औं र १५औं होलमा पनि एक-एक सट खेर फाले ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका महाप्रबन्धक केशव प्रधान, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जिवाराम गुरुङले पुरस्कार वितरण गरे । ५४ होलको तीनदिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गरी कुल ५२ गल्फरहरूले भाग लिएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रहेको थियो । भोलि प्रो-एम प्रतियोगिता हुनेछ ।