
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा राइट टु प्रोटिन दौड प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ ।
उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर दौड (महिला तथा पुरुष) र बालबालिकाका लागि ‘रन फर फन’ विधा समावेश गरिएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सबै विधामा करिब आठ हजार खेलाडीले दर्ता गरेका छन् । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही एक लाख ५० हजार प्राप्त गर्नेछन् ।
त्यसैगरी दोस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
१० किमी दौडमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले १० हजार पाउनेछ ।
प्रतियोगिता अन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पाउनेछन् ।
तीन किमि दौडमा पहिलो हुने खेलाडीले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय पाउनेछन् ।
ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार पाउनेछ भने दोस्रो हुने खेलाडीले २० हजार पाउनेछ । त्यसैगरी तेस्रो हुने खेलाडीले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाउनेछ ।
प्रतियोगिताको गत वर्षको हाफ म्याराथन अन्तर्गत महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारीले स्वर्ण पदक जितेका थिए ।