
किन्नर अखाडामा संन्यास लिएपछि अभिनेत्री ममता कुलकर्णी । तस्बिर : एएनआई
९० को दशककी फिल्म अभिनेत्री ममता कुलकर्णीले शुक्रबार प्रयागराजमा चलिरहेको कुम्भ मेलाबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी छिन् ।
समाचार वेबसाइट द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले उनलाई अब माई ममता नन्द गिरीको नामले चिनिने बताएको छ ।
द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि ममता कुलकर्णीले कुम्भ मेलाको समयमा पहिलोपटक किन्नर अखाडामा संन्यास लिएकी थिइन् । त्यसपछि उनलाई नयाँ नाम दिइएको थियो ।
पिण्ड दान गरेपछि, उनलाई किन्नर अखाडामा अभिषेक गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमहरुसँग कुरा गर्दै बलिउड अभिनेत्री ममता कुलकर्णीले भनिन्, ‘यो महादेव महाकालीको आदेश र मेरो गुरुको आदेश थियो ।’
आकाशतिर औंल्याउँदै उनले भनिन्, ‘आज उसले रोजेको दिन थियो, मैले केही गरिनँ ।’ -बीबीसी