काठमाडौं, माघ १३ :

नेपमेलो स्टुडियोले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ । उनले शोमा तेजप्रसाद पाण्डेको शब्द तथा संगीत रहेको ‘पहिलो माया’ बोलको मर्मस्पर्शी गीत गाएकी छिन् । सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ ।

सुजातालाई गितारमा चर्चित गितारिस्ट सञ्जीव बराइली र बाँसुरीमा रत्न विकेले साथ दिएका छन् । प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ‘अकाउस्टिक नेपाल’ को स्टुडियोमा खिचिएको हो ।

झन्डै ६ महिना लामो अध्ययन र तयारीपछि नेपमेलोले ‘सिंगर्स अन माइक’ दर्शकमाझ ल्याएको हो । यो कुनै रियालिटी शो हैन । रियालिटी शोजस्तै देखिने यो एक रियल शो हो, जहाँ प्रस्तुति दिने गायक-गायिकाले आफ्नै गीत गाउने पर्नेछ । गीत गाउने गायक नै स्टेजमा हुने कन्सेप्ट र नयाँ अवधारणासहित सुरु गरिएको यो कार्यक्रममा कुनै प्रतिस्पर्धा र पुरस्कारको व्यवस्था छैन ।

अहिले कति गायक-गायिकाको गीत सुपरहिट भए पनि सो गीत खासमा कसले गाएको हो भन्नेबारे दर्शक अनविज्ञ रहने भएकाले जसले गाएको हो उसैलाई स्टेजमा उतार्ने नेपमेलोको मूल उद्देश्य हो । आफ्नो यो प्रकारको फरक प्रस्तुतिले दर्शकलाई भरपूर रमाइलो, ज्ञान र आनन्द प्राप्त हुनेमा नेपमेलो विश्वस्त छ ।

दर्शकले यस कार्यक्रममा नयाँ कलाकारका साथै अग्रज र अहिलेका चल्तीका गायक-गायिकाको प्रस्तुति देख्न सक्नेछन् ।

कार्यक्रमबारे जानकारी दिएलगत्तै निर्माण टिमलाई करिब २५० वटा गीत प्राप्त भएका थिए । जसबाट टिमले पहिलो चरणका लागि २४ वटा गीत छनोट गरेको थियो । त्यसबाट पनि पाँचवटा नाम प्रस्तुतिका लागि फाइनल भएको छ । सोहीअनुरुप पहिलो प्रस्तुति बुटवलकी सुजाता पाण्डेले दिएकी हुन् ।