
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् ।
४६औं पर्यटक प्रहरी दिवसका अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले नेपालमा पर्यटनको विकास र प्रवर्धनका लागि जैविक, प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए ।
उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्धन जरुरी रहेको बताए । नदीको प्राकृतिक वहावमा अतिक्रमण गर्न नहुने बताए ।
पर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गरेर छाड्ने पनि बताए । पर्यटकहरु देशको समृद्धिको वाहक भएको उनको भनाइ छ । ‘पर्यटन क्षेत्र भनेको एक्लै अगाडि बढ्नै नसक्ने क्षेत्र हो । एक्लैले म यो गर्छु भनेर सम्भव हुँदैन । पर्यटन भन्नासाथै पर्यटनसँग सबै क्षेत्र जोडिन्छ । गृह मन्त्रालय जोडिन्छ, परराष्ट्र मन्त्रालय जोडिन्छ, वन मन्त्रालय जोडिन्छ, उद्योग मन्त्रालय जोडिन्छ,’ उनले भने, ‘नदीको प्राकृतिक बहावमा अतिक्रमण भयो भने र्याफ्टिङको सम्भावना रहँदैन । ऊर्जा मन्त्रालयले ठुला-ठुला ड्याम राखेर ऊर्जाको विकास गर्छ । विकास जरुरी छ । तर नदीको प्राकृतिक बहाव हामीले जोगाउनुपर्ने चुनौती पनि छ । जैविक विविधता जोगाउनुपर्ने चुनौती पनि छ । त्यसको सुरक्षा भएन भने पर्यटकहरु त्यो गन्तव्यमा जान मान्दैनन् ।’
पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताए । उनले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी सुरु गरेको बताए । प्रहरी पयर्टकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सीमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिबद्धता जनाए ।