
न्यायपरिषद्को सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता दामोदर खड्काको संसदीय सुनुवाइ माघ २० गते हुने भएको छ ।
संघीय सुनुवाइ समितिको बैठकले खड्काको सुनुवाइ माघ २० गते दिउँसो ३ बजे गर्ने निर्णय गरेको हो । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्यमा नियुक्त गर्न खड्काको नाम पुस २७ गते सिफारिस गरेको थियो ।
उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएको समितिले जनाएको छ । परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा सरकारले खड्कालाई सिफारिस गरेको थियो ।
पाँच सदस्यीय न्यायपरिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्छन् । सदस्यहरुमा वरिष्ठतम् न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एसोसिएसनका तर्फबाट एकजना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् सदस्य रहने व्यवस्था छ ।