कोलम्बो, माघ १६ :

श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिता राजापाक्षलाई सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएपछि सोमबार देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

सन् २००५ देखि २०१५ सम्म आफ्ना पिता सत्तामा रहँदा घर खरिद गर्दा प्रयोग हुने आम्दानीको आयस्रोतबारे खुलाउन नसकेको प्रहरीले बताएपछि ३६ वर्षीय पूर्व जुनियर नौसैनिक अधिकारी योशितालाई विदेश यात्रामा समेत प्रतिबन्ध लगाइएको छ ।

उनलाई पक्राउ गरी दुई दिन हिरासतमा राखिएको थियो । सोमबार कोलम्बोका एक म्याजिस्ट्रेटले १० करोड भारु (तीन लाख ४४ हजार अमेरिकी डलर) को धरौटीमा रिहा गर्न आदेश दिएका थिए । 

योशिताले अनुसन्धानकर्ताहरूसँग आफ्नी हजुरआमाले दिएको रत्नहरू बेचेर सम्पत्ति किन्नका लागि पैसा जम्मा गरेको दावी गरेका छन् । 

सोधपुछ गर्दा हजुरआमाले ती बहुमूल्य पत्थरहरू कसरी प्राप्त गरे भनी जानकारी नभएको उनले बयान दिए । 

उनलाई सन् २०१६ मा टेलिभिजन नेटवर्क खरिद गरेको अभियोगमा पक्राउ गरिएको थियो । यी दुवै घटना वर्षौंदेखि निष्क्रिय अवस्थामा थिए ।

श्रीलङ्काको संसद्मा सांसद रहेका उनका जेठा दाइ नमालले पनि सम्पत्ति शुद्धिकरणको छुट्टै आरोप खेपिरहेका छन् । 

शक्तिशाली राजापाक्ष परिवारका कैयौँ सदस्य र उनका निकट सहयोगीहरूमाथि वर्षौंदेखि भ्रष्टाचार र हत्यालगायत विभिन्न अपराधको आरोप लगाइएको छ ।

योशिताविरुद्धको मुद्दा वर्षौं पुरानो भएपनि राष्ट्रपति अनुरा कुमारा दिसानायकेले चुनावमा जित हासिल गरेपछि यसलाई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

सन् २०२४ को सेप्टेम्बरमा सत्तामा आएका राष्ट्रपति दिसानायकेले विचाराधीन फौजदारी मुद्दालाई छिटो छरितो बनाउने र विदेशमा लुकाएर राखेको भनिएको चोरीको सम्पत्ति फिर्ता ल्याउने वाचा  गरेका छन् ।

मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै नयाँ सरकारले फौजदारी अनुसन्धान विभागलाई अभियोजनलाई गति दिन थप स्रोत उपलब्ध गराइरहेको जनाएका छन् ।

जयतिसाले भने, “यो राजनीतिक बदलाको लागि ल्याइएको मुद्दा होइन । श्रीलङ्काका नागरिकले हामीलाई मतदानबाट अनिर्णीत मुद्दाहरू टुङ्ग्याउन दिएको जनादेश हो।”

सन् २०१९ मा राष्ट्रपति बनेका महिन्दा राजापाक्षेका कान्छा भाइ तथा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षले पनि श्रीलङ्काको गृहयुद्धको अन्त्यतिर महिन्दाको कार्यकालमा एक शीर्ष रक्षा अधिकारी हुँदा सैन्य खरीदमा भ्रष्टाचारको आरोप खेप्नुपरेको छ।

उनलाई सन् २०२२ मा जनविद्रोहपछि सत्ताच्युत गरिएको थियो । -एएफपी