काठमाडौं, माघ १६ :

रिलिजको एक दिनअघि ‘एक्टरः टेक वन’फिल्मको प्रदर्शन रोकिएको छ। काठमाडौं जिल्ला अदालतको मंगलबारको अन्तरकालीन आदेशले फिल्मको प्रदर्शन रोकिएको हो ।

फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न शुक्रबार अदालतमा रिट दायर गरेको थियो।

कानुनी प्रावधानसमेत छलेर फिल्म बनाएको र कथावस्तुसमेत चोरीको प्रयोग गरेर गैरकानुनी कार्य गरेको आरोप लगाउँदै ‘एक्टर’ पक्षले प्रतिलिपि अधिकार कानुनबमोजिम कारबाही गरी उचित क्षतिपूर्तिसहित उपयुक्त आदेश माग गरेको थियो। रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स् र मोती फिल्मसलाई विपक्षी बनाइएको छ।, दुवै पक्षलाई माघ २२ गते छलफलका लागि अदालतले बोलाएको छ।

प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी स्टारर ‘एक्टरः टेक वन’को अग्रिम बुकिङसमेत खुलिसकेको थियो। अब टिकट बुक गरेका दर्शकलाई फिल्म प्रदर्शकले पैसा फिर्ता दिनुपर्ने भएको छ। ‘एक्टर’भने गत माघ ४ देखि प्रदर्शन हुँदै आएको छ।